गरिब हुनु जतिको अभिशाप अरु केही रहेनछ ।
काठमाडौंको डेरामा बस्दै आएकी माइली राई बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो । घरको मूल व्यक्ति गुमाउनुको पिडा त एकातिर थियो नै सबैभन्दा ठूलो पिडा थियो त्यो मृत लासको व्यवस्थापन । जिउँदो मानिसलाई पैसाले एक समय छोड्दैन तर मरेपछि पनि यसले सताउन भने छोड्दो रहेनछ ।
उनीहरूले शववाहन बोलाए । केहीबेरमै शववाहन कोठामा आइपुग्यो । तर, आर्यघाटसम्म लैजान चार हजार रुपैयाँ माग्यो । माइलीसँग त्यत्रो पैसा थिएन । शववाहन शव नलिई फर्कियो । शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले । समस्यामा परेकी माइलीले श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखिन् । छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्याइन् । दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । केन्द्रका कर्मचारीले चार हजार रुपैयाँ शुल्क मागे । शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन् । उनीहरूले त्यो दिनभर लासलाई रिक्सामा राखेर गुहार मागीरहे । तर अह, पैसा बेगर केही काम चलेन । उनको आशु र गुहारले कुनै मूल्य पाएन ।
माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए । उनैले घाटमा पुगेर शुल्क भुक्तानी गरिदिए । उनैले किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए । अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्, तर भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनलाई बिहान–बेलुका खाने अन्नको अभाव छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?